Sunday, April 10, 2016

मिर्गौला रोगको उपचारमा राज्यको विशेष ध्यान जानुपर्छ – अध्यक्ष दाहाल

काठमाडौँ, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मिर्गौला रोगीको उपचारमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
parchanda
आज आफ्नै निवास लाजिम्पाटमा मिर्गौलापीडित सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले स्वास्थ्य सेवा पाउने अधिकार संविधान प्रदत्त मौलिक अधिकार भएकाले राज्यले उचित उपचारको प्रबन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले स्वास्थ्य सेवा सर्वसुलभ नहुँदा नागरिकले दुःख कष्ट र हैरानी खेप्न बाध्य हुनुपरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मिर्गौला रोगीको उपचारका लागि विशेष प्रबन्ध गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।
पर्याप्त ऐन कानुनको अभावमा पीडितले विभिन्नखालका झमेला, हैरानी बेहोर्नुपरेको भन्दै उहाँले उपचारकै अभावमा कोही कसैको ज्यान नै जानुपर्ने अवस्थाको अन्त्यका लागि राज्यका तर्फबाट विशेष पहल गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
दैनिक मिर्गौलापीडितको सङ्ख्या बढ्दै जानु दुःखद भएको भन्दै उहाँले खानपिन, आहारमा पनि विशेष ध्यान दिनुपर्ने र जनचेतना बढाउनेतर्फ पनि विशेष ख्याल गर्नुपर्ने सुझाव दिनुभयो । महामारीको रुप लिन खोजिरहेका बेला राजनीतिक नेतृत्व, सरकार र हामी आफैँले पनि विचार गर्नुपर्ने बेला आएको अध्यक्ष दाहालको कथन थियो ।
सङ्घका प्रतिनिधिले आगामी आर्थिक वर्षमा मिर्गौला रोगीको उपचारमा विशेष व्यवस्था गर्न र राज्यका तर्फबाट विशेष सहुलियत उपलब्ध गराउन अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए । रासस

No comments: